वातावरण संरक्षणमा एक जुट हुनुपर्दछ : मन्त्री शाह

January 9, 2009

वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले वातावरण तथा जलवायु संरक्षणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । गत वर्षको डिसेम्बर ११ र १२ मा पोल्याण्डको पोजनानमा सम्पन्न कोप १४ मा भएका गतिविधिबारे जानकारी दिने उद्दे्श्यले मन्त्रालयद्वारा आयोजना गरिएको कार्यक्रममा मन्त्री शाहले सो कुरा बताउनुभएको हो ।

उहाँले जलवायु परिवर्तन सबैको चासो र सरोकारको विषय भएको उल्लेख गर्दै भन्नुभयो- वातावरण संरक्षणमा सबै एक जुट हुनुपर्दछ । आगामी डिसेम्बरमा डेनमार्कमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको तयारीमा आजैदेखि जुट्ने बताउँदै उहाँले जलवायु परिवर्तनजस्तो महत्वपूर्ण विषयलाई कुनै एक पक्षको टाउकोमा मात्रै सबै समस्याहरु थुपार्न नहुने बताउनुभयो । मन्त्री शाहले नेपालमा अपार प्राकृतिक सम्पदा हुँदाहुँदै ती सम्पदाको उचित संरक्षण हुन नसक्दा नेपालले जलवायु परिवर्तनको समस्या भोग्नुपर्ने अवस्था आएको हो भन्नुभयो । समयमै सचेत नहुने हो भने केही वर्षभित्र नेपालको तराई भूभाग मरुभूमिमा परिणत हुने उहाँको धारणा थियो । उहाँले जलवायु परिवर्तनलाई राष्ट्रिय एजेण्डाको रुपमा अगाडि बढाउन आवश्यक रहेको बताउँदै भन्नुभयो- सम्बन्धित मन्त्रालयमा रहेका कारण पनि म आजैदेखि जलवायु परिवर्तनसम्बन्धी नीतिगत निर्णय तिर लाग्छु ।

सो अवसरमा उहाँले गत सम्मेलनमा जलवायु परिवर्तनका सम्बन्धमा आदिवासी तथा जनजातिका साथै सबै वर्गका समस्या उठाएको बताउँदै भन्नुभयो- आगामी सम्मेलनमा यससम्बन्धी अझ बढी छलफलका साथ जानुपर्ने भएकोले आदिवासी, जनजातिलाई अझ बढी समेट्ने गरी विशेष कार्यक्रमको साथ जानेछौं । ग्लोबल वार्मिङलाई विश्वले प्रमुख मुद्दा बनाएर अघि बढेको बताउँदै उहाँले नेपालले पनि यसलाई राष्ट्रिय मुद्दा बनाउनुपर्छ भन्नुभयो ।

कार्यक्रममा भाग लिन जाँदा विगतका सम्मेलनमा भाग लिन गएका पूर्वमन्त्रीका साथै पूर्व पूर्वप्रशासकहरु पनि सहभागी हुनुपर्नेमा जोड दिनुभयो ।

विदेशीहरुसँग सहमति तथा सम्झौता गर्नु गाह्रो कुरा भएको मन्त्री शाहले बताउनुभयो । उनीहरुसँग सहमति गर्न दक्षता आवश्यक पर्ने बताउँदै मन्त्री शाहले ग्लोबल वार्मिङका विषयमा अन्य मुलुकहरुबीच वार्ता तथा सहमतिका लागि दक्षता अभिवृद्धि आवश्यक भएकोले आफू तुरुन्तै त्यसतर्फ लाग्ने बताउनुभयो । २१ औं शताब्दीमा विज्ञान तथा प्रविधिलाई विश्वले अगाडि ल्याइरहेको अवस्थामा नेपाल सरकारले विज्ञान मन्त्रालयलाई उपेक्षा गरेकोमा दुखेसो व्यक्त गर्नुभयो ।

कार्यक्रममा वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव उमेश मैनालीले जलवायु परिवर्तन विश्वव्यापी चासोको विषय भएको बताउँदै अहिलेदेखि नै वातावरण जोगाउनतिर नलाग्ने हो भने आगामी २० वर्षभित्र नेपालका सबै हिमाल पग्लिएर सकिने धारणा राख्नुभयो । यसबाट पानीको अभाव, मौसम परिवर्तनजस्ता समस्या अझ बढी देखिने सचिव मैनालीको कथन थियो । सचिव मैनालीले पोल्याण्ड जानुअघि पनि सबैसँग छलफल भएको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने दाबी गर्नुभयो । जलवायु परिवर्तनमा युवा सहभागिता आवश्यक रहेको औंल्याउँदै सचिव मैनालीले ५० भन्दा बढी देशका युवाहरु सरकारलाई दबाब दिन पोजनान सम्मेलनस्थल बाहिर जम्मा भएको बताउँदै नेपाली युवाहरु पनि त्यसतर्फ चनाखो हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेलले जलवायु परिवर्तनजस्तो विश्वव्यापी समस्याको समाधानका लागि गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोग लिएर सरकार अघि बढ्ने सकेमात्र यसबाट प्राप्त हुने अवसर नेपालले लिन सक्ने बताउनुभयो । उहाँले कतिपय अवस्थामा भाषागत कमजोरीका कारण पनि नेपाल विभिन्न अवसरबाट विमुख भएको बताउँदै कतिपय मुद्दामा क्षेत्रीय सहयोगसमेत लिएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा वन तथा भूसंरक्षण मन्त्रालयका सचिव डा. उदयराज शर्माले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा सन्दिप चामलिङ राई, गेहेन्द्रबहादुर गुरुङ, राजु लौडारी, बटु उप्रेती र डा. जगदीश बरालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

Deepak Adhikari

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: